चार महिनापछि रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरु

गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित हवाई उडान पुनः सुरु भएको छ । मंगलबार बिहान मौसम अनुकूल भएपछि नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो ।

नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो । वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए ।

थापाका अनुसार वर्षायाममा हरेक वर्ष मौसम प्रतिकूलताका कारण रेसुङ्गा विमानस्थलको उडान करिब अढाइ महिनासम्म प्रभावित हुने गरेको छ । तर, यस वर्ष प्रतिकूल मौसमका कारण नियमित उडान लामो समयसम्म अवरुद्ध भएको हो ।

यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार नियमित उडान गर्दै आएको छ । मौसम अनुकूल रहे नियमित उडानलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ ।