भदौ २४ नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा भएको दमन तथा भदौ २४ गतेका तोडफोड, आगजनी र विध्वंसका घटनाको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस वक्तव्यमार्फत भदौ २४ गते भएको विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’को संज्ञा दिएका छन्।
प्रचण्डका अनुसार अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान तथा नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट प्रेरित भएर युवाहरूले सामाजिक सञ्जालमार्फत आन्दोलन सुरु गरेका थिए। तर, राज्यले दमनको बाटो रोजेको र त्यसबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै संदिग्ध तत्वहरूले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिएको उनले दाबी गरेका छन्।
उनले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा भएको लुटपाट, आगजनी तथा विध्वंसबारे गम्भीर छानबिन आवश्यक रहेको बताएका छन्।
‘आन्दोलन उग्र बनेपछि वास्तविक जेनजी अभियन्ताहरूले भदौ २३ गते दिउँसो नै ‘घुसपैठ भयो’ भन्दै ‘घर फर्कौं’ भनी गरेको आह्वान अनि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट र आगजनी निरन्तर हुनु, सङ्गठित समूहको परिचालन देखिनु र प्रज्वलनशील पदार्थको प्रयोग हुनुले घटना पछाडि गम्भीर षड्यन्त्र रहेको सङ्केत गर्दछ,’ प्रचण्डले भनेका छन्।
संसद् विघटन, गैरदलीय सरकार गठन तथा निर्वाचन घोषणा जस्ता पछिल्ला राजनीतिक घटनाक्रमले पनि समग्र घटनाको उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन तथा आयोगले औंल्याएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
वक्तव्यमा जेनजी युवाहरूले खोजेको परिवर्तन अझै हासिल हुन नसकेको र नागरिकमा पुनः निराशा बढेको दाबी गरिएको छ। महँगी, शिथिल अर्थतन्त्र, बेरोजगारी, युवा पलायन, बढ्दो सार्वजनिक ऋण तथा करको बोझका कारण सर्वसाधारण नागरिक प्रभावित भइरहेको प्रचण्डको भनाइ छ।
उनले नयाँ सरकारले संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताजस्ता संविधानका मूलभूत संरचना कमजोर पार्न खोजेको आरोप पनि लगाएका छन्।
प्रचण्डले त्यस्ता प्रतिगामी तथा निरंकुश प्रयासको नेकपाले दृढतापूर्वक प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
युवाको आवाज दबाएर नभई उनीहरूको माग र सरोकार सुनेर सम्बोधन गरे मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै उनले प्राप्त अधिकारको रक्षा गर्न शान्ति, संविधान र लोकतन्त्रका पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता तथा नागरिक समाजलाई एकताबद्ध हुन अपिल गरेका छन्।
