माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्न थालियो

काठमाडौं । भोटेकोसीको भीषण बाढीपछि पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारका लागि पानी पम्पिङ गरेर बाहिर निकाल्न थालिएको छ।

भदौ १० मा आएको बाढीपछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा करिब ३८ जना फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि हिजो रातभर पनि निरन्तर प्रयास जारी रहेको थियो।

उद्धारकर्ताले टनेलको पोर्टल क्षेत्रमा जम्मा भएको ढुंगा–माटो हटाउने क्रममा सोमबार बिहान करिब ३ बजे विस्फोट गराएर टनेलको मुख खोलेका थिए। त्यसपछि टनेलभित्र ठूलो मात्रामा पानी रहेको पाइएपछि वाटर पम्पसेट प्रयोग गरी पानी बाहिर निकाल्ने काम सुरु गरिएको हो।

पानी निकाल्ने कार्यलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताका थप डिजी सेट र पम्पसेटलगायत आवश्यक उपकरण उद्धारस्थलमा पुर्‍याइएको छ।

उद्धारकर्ताका अनुसार टनेलको मुखतर्फ थुप्रिएको ढुंगा र माटो हटाउँदै भित्र प्रवेश गर्न सकिने मार्ग तयार गर्ने काम पनि जारी छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र आवश्यक सबै संयन्त्र परिचालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सुनिलकुमार ढुंगेल तथा कार्यकारी निर्देशकसहितको टोली उद्धारस्थलतर्फ जाँदैछ।

ऊर्जा मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक, भूगर्भविद् तथा अन्य विज्ञहरूको टोली पनि घटनास्थलमा पुगेर उद्धारका सम्भावित विकल्पबारे अध्ययन गरिरहेको छ।

टनेलभित्र फसेकाहरूको अवस्थाबारे यकिन जानकारी आउन बाँकी रहे पनि उद्धारका लागि सबै उपलब्ध प्रविधि र जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ।