आफन्तको उद्धार आफैँ गर्छु भन्दा पनि सरकारले रोकेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यको गतिमाथि प्रश्न उठाउँदै सरकारमाथि अन्य व्यक्ति तथा संस्थालाई उद्धारमा सक्रिय हुन नदिएको आरोप लगाएका छन्।

सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्ने क्रममा अध्यक्ष ओलीले उद्धार गर्न सक्ने क्षमता र इच्छा भएका व्यक्ति तथा समूहलाई समेत सरकारले रोकिरहेको दाबी गरेका हुन्।

‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ उनले भने, ‘त्यहाँ जान्ने मानिसहरू छन्, उद्धार गर्न इच्छुकहरू छन्। उद्धारका लागि तालिम लिएका मानिसहरू छन्। त्यस्ता मानिसलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने र काम गर्न पाउने हो भने धेरै काम गर्न सक्थे।’

तर सरकारले प्रतिबन्ध लगाएर उद्धारका काममा रोक लगाएको उनको आरोप थियो।

ओलीले सुरुङभित्रको उद्धार कार्य हेलिकप्टरबाट सम्भव नहुने उल्लेख गर्दै त्यहाँ आवश्यक जनशक्ति परिचालनमा पनि ढिलाइ भएको दाबी गरे।

‘अब रेस्क्यू कहाँकहाँ गर्नुहुन्छ? सुरुङमुनिको रेस्क्यू त हेलिकप्टरबाट हुँदैन। त्यहाँ मजदुर रोकेर राखेको बल्ल खुल्या छ,’ उनले भने।

स्थानीय नागरिकले आफ्नै आफन्तको खोजी तथा उद्धार गर्न खोज्दा समेत रोक लगाइएको ओलीको आरोप छ।

‘स्थानीय जनता भनिरहेका छन्, हामीलाई आफन्तहरू खोज्न देऊ न। केन्द्रीय सरकारले त्यो रोकिदिएको छ,’ उनले भने।

यस्तो परिस्थितिमा पनि एमालेले आफ्नो स्थानबाट उद्धार तथा राहतका काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने उनले बताए।

‘हामी सकेसम्म सबैसँग समन्वय गरेर काम गर्न चाहन्छौँ। केन्द्रीय सरकारसँग पनि समन्वय गर्न चाहन्छौँ,’ ओलीले भने, ‘केन्द्रीय सरकारको कोषमा पैसा जम्मा भएको छ, तर जनता भोकै छन्।’

उनले एमालेले संकलन गरेको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने वा पार्टीकै संयन्त्रमार्फत प्रत्यक्ष रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए।

अध्यक्ष ओलीले विपद्को कठिन घडीमा प्रक्रियाभन्दा पनि पीडितसम्म तत्काल उद्धार र राहत पुर्‍याउनु सबैभन्दा महत्वपूर्ण रहेकोमा जोड दिए।