स्याटेलाइटले देखायो बाढीको कारण रसुवागढीबाट २० किमि उत्तरपूर्वमा हिम–चट्टान पहिरो हुनसक्ने
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीको सम्भावित कारण नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरो हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टान पहिरो गएको देखिएको हो।
उक्त हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्य्रानसहितको बाढी आएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।
पहिरोका कारण खोलामा एक्कासि ठूलो मात्रामा पानी तथा गेग्य्रान मिसिएर आएको बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको प्राधिकरणको भनाइ छ ।
‘प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल(चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ।’ प्राधिकरणले भनेको छ । आज बिहान चीनको तिब्बत हुँदै आएको बाढीले रसुवा, नुवाकोट धादिङमा ठूलो क्षति पुगेको छ । हालसम्म १८ जनाको शव भेटिएको छ । सयौं सम्पर्कविहीन भएका छन् ।
