रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले बाढीबाट प्रभावित तीन जिल्लामा उद्धार, राहत, उपचार तथा पुनर्स्थापनालगायतका आवश्यक कामलाई प्रभावकारी रूपमा अघि बढाउन संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकले प्रभावित क्षेत्रमा आवश्यक सबै स्रोत–साधन परिचालन गर्दै विपद् व्यवस्थापनका कामलाई तीव्रता दिने निर्णय गरेको जनाइएको छ।

यसैगरी मन्त्रिपरिषद्ले सबै मन्त्रीलाई आफ्नो मन्त्रालयअन्तर्गत आवश्यक पर्ने कामको पहिचान गरी फिल्डमै खटिन निर्देशन दिएको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार तथा अन्य सेवा प्रभावकारी बनाउन मन्त्रालयहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरिएको छ।

सरकारले बाढी प्रभावित जिल्लामा तत्काल राहत र उद्धारलाई प्राथमिकता दिँदै क्षतिको विवरण संकलन, प्रभावित नागरिकको व्यवस्थापन तथा आवश्यक पुनर्स्थापनाका कामलाई समेत तीव्रता दिने जनाएको छ।