कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष भोलि सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै भोलि सर्वोच्च अदालत जाने तयारी गरेको छ।

इतर पक्षका नेता डा. शशांक कोइरालाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।

नेता एनपी साउदले शीर्ष नेताहरूको समन्वयमा कानुन व्यवसायीहरूले निवेदन दर्ताका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिए।

‘शीर्ष नेताहरूको समन्वयमा साथीहरूले तयारी गरिराख्नुभएको छ। भोलि मुद्दा दर्ता हुन्छ,’ उनले भने।

साउदका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै निवेदन दर्ता गर्ने तयारी गरिएको छ। विषयवस्तु एउटै भए पनि दुवै पक्षबाट अलग–अलग निवेदन पेस गरिने उनले बताए।

‘सुरुदेखि नै उहाँहरूले बेग्लाबेग्लै निवेदन दिइराख्नुभएको छ। विषयवस्तु एउटै भए पनि भोलि छुट्टाछुट्टै दिने गरी तयारी भइरहेको छ,’ साउदले भने।

देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै हालै सम्पन्न भेलाबाट देउवाकै नेतृत्वमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो। यता संस्थापन पक्षले भने आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

पार्टीभित्र महाधिवेशनको वैधानिकता र नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको हो।