बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू पुनः सडकमा

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पुनः सडकमा उत्रिएका छन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्दै सबै बचतकर्तालाई समान व्यवहार गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले साना र ठूला बचतकर्ता भनेर पीडितलाई विभाजन गर्न नहुने भन्दै सरकारले यस्तो नीति अपनाएर आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए।

महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनरत सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गर्न सरकारसँग माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे।

उनले विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।

केसीले सहकारी पीडित सबै समान भएकाले साना र ठूला बचतकर्ताको आधारमा विभेद नगरी सबैको बचत फिर्ता सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

सरकारले हाल ठूला ऋणीबाट कर्जा असुली गरी साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति अघि बढाइरहेका बेला पीडितहरूले त्यसप्रति असन्तुष्टि जनाउँदै सबै बचतकर्तालाई समान प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्’, ‘फुटाउने षड्यन्त्र बन्द गर’, ‘सानो र ठूलो बचतकर्तालाई समान व्यवहार गर’, ‘पीडितलाई न्याय कहिलेसम्म?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले आफूहरू ठगिएको सहकारीका सञ्चालकहरूको तस्वीरसहितका ब्यानरसमेत प्रदर्शन गरेका थिए।