बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज राजीनामा बुझाउने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि आजै औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ।
सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार आज बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने कार्यक्रम तय भएको छ।
गत असार ३२ गते मन्त्रिपरिषद् बैठकपछि काठमाडौं गएका एमालेका सबै मन्त्री पाँच दिनपछि मंगलबार राति हेटौंडा फर्किएका हुन्। यसअघि पार्टी नेतृत्वले दुई पटकसम्म राजीनामा रोक्दै आएको थियो।
मन्त्री पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा सत्ता सहकार्यबारे भएको छलफलपछि मन्त्रीहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन प्राप्त भएको हो।
सरकारमा एमालेबाट मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री रहेका छन्।
मुख्यमन्त्री बानियाँले साउन १ गतेदेखि लागू हुने गरी १४ मध्ये ६ मन्त्रालय खारेज गरेपछि गाभिएका मन्त्रालयमा एउटै मन्त्रालयमा तीन–तीन जनासम्म मन्त्रीको जिम्मेवारी तोकेका थिए। उक्त निर्णयको विपक्षी र विभिन्न पक्षबाट आलोचना भएको थियो।
बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार साउन २०८१ देखि सञ्चालनमा थियो। इन्द्रबहादुर बानियाँले २० साउन २०८२ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यसअघि बहादुरसिंह लामाले सरकारको नेतृत्व गरेका थिए।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।
