जलवायु सचेतनाका लागि कांग्रेसको ‘ग्रिन रन’, सुकुम्वासीका लागि मानवीय सहयोग कोष पनि स्थापना

काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा पाँच किलोमिटरको ‘ग्रिन रन’ आयोजना गरेको छ। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘ग्रिन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित सञ्चालन गरिएको हो। प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे नागरिकमा सचेतना फैलाउने उद्देश्यले दौड आयोजना गरिएको जानकारी दिए।

दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने कार्यक्रम रहेको छ। साथै, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने गरी चर्चित चित्रकारहरूले प्रत्यक्ष पेन्टिङ गर्ने व्यवस्था पनि गरिएको छ।

कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गर्दै नयाँ अभियान सार्वजनिक गर्ने जनाएको छ।

यस्तै, ‘ग्रिन रन’ मा सहभागीको संख्याका आधारमा पार्टीले आफ्नै कोषबाट प्रतिव्यक्ति निश्चित रकम जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा गरेको छ। उक्त कोषबाट हालै विस्थापित भएका सुकुम्वासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग उपलब्ध गराइने कांग्रेसले जनाएको छ।