गुल्मीका सबै स्थानीय तहमा घरमै राहदानी सेवा, १,११० नागरिक लाभान्वित
गुल्मी । गुल्मीका १२ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा विस्तार गरिएको छ। सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने सरकारको ‘सेवा घरदैलोमै’ अभियानअन्तर्गत हुलाक सेवा विभागमार्फत यो सेवा सञ्चालनमा आएको हो।
जिल्ला हुलाक कार्यालय गुल्मीका भुवन पाण्डेका अनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा घरमै राहदानी वितरण सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले रेसुङ्गा नगरपालिकाबाट सुरु गरिएको अभियान अहिले जिल्लाका सबै स्थानीय तहमा विस्तार भइसकेको जानकारी दिए। उनका अनुसार हालसम्म १ हजार ११० जना सेवाग्राहीले घरमै राहदानी प्राप्त गरिसकेका छन्।
वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने झन्झट हटाउन सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन्।
हुलाकमार्फत राहदानी घरमै प्राप्त हुन थालेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत भएको छ। यसअघि राहदानी तयार भएपछि लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो।
जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार स्थानीय तहसँगको समन्वयमा नागरिकको घरमै राहदानी पुर्याउने व्यवस्था मिलाइएको हो। प्रमुख जिल्ला अधिकारी गैह्रेले ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै यो सेवालाई अझ प्रभावकारी बनाइने बताए।
