प्रधानमन्त्री शाह नेपाली हिटलरजस्तै बनेको महन्थ ठाकुरको आरोप
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति तीव्र आलोचना गर्दै देश तानाशाही शैलीतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै ठाकुरले सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसक्दा जनतामा निराशा बढेको र त्यसको असर समाजमा देखिन थालेको दाबी गरे।
उनले सरकारका गतिविधिका कारण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको र यसले मुलुकको अर्थतन्त्र थप कमजोर बन्ने बताए। साथै राजनीतिक दलका नेताहरूले समेत असुरक्षित महसुस गरिरहेको उनको भनाइ थियो।
शिक्षा र स्वास्थ्य क्षेत्रसमेत सरकारका नीतिबाट प्रभावित भइरहेको उल्लेख गर्दै ठाकुरले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरकार विपरीत दिशामा हिँडिरहेको आरोप लगाए।
“सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन। नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ,” उनले भने।
ठाकुरले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयको पनि विरोध गरे। उनले संगठित संस्थाहरूमाथि आक्रमण गरेर सरकारले के हासिल गर्न खोजेको हो भन्ने प्रश्न उठाए।
प्रधानमन्त्री शाहको कार्यशैली तानाशाही प्रवृत्तिको रहेको आरोप लगाउँदै ठाकुरले भने, “नेपाली डिक्टेटर, नेपाली हिटलर। नेपाली हिटलर भइसकेको छ।”
उनले प्रधानमन्त्रीले आफूले बोलेको नै सही र आफूले गरेको नै कानुन ठान्ने शैली अपनाएको आरोप लगाउँदै यस्ता गतिविधिले देशलाई गलत दिशातर्फ धकेलिरहेको टिप्पणी गरे।
