बहुमतका आधारमा संविधान उल्लंघन गर्न पाइदैन : कांग्रेस सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले प्रधानमन्त्री बालेन शाहलाई कानुन र प्रश्नभन्दा माथि राख्न खोजिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले बहुमतका आधारमा संविधान उल्लंघन गर्न नपाइने स्पष्ट पार्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए।

उनले संविधानको धारा १ ले संविधानलाई सर्वोच्च कानुनका रूपमा स्थापित गरेको र धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गरेको उल्लेख गर्दै बहुमतले संविधान उल्लंघन गर्ने अधिकार नदिने बताए।

राईले १८२ सिटको बहुमत प्राप्त सरकारले त्यसलाई नागरिकको आवाज दबाउने माध्यम बनाउन नहुने भन्दै बहुमतले जनताको प्रतिनिधित्व गर्ने भए पनि जनताको अधिकार कुण्ठित गर्ने अधिकार नपाउने तर्क गरे।

सरकारले आलोचनात्मक प्रश्नलाई निरुत्साहित गर्न खोजेको आरोप लगाउँदै उनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई समेत प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्न खोजिएको दाबी गरे।

“सरकारले ‘श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन’ भन्ने सन्देश दिन खोजिरहेको छ। संविधान र कानुनको सीमाभित्र उठ्ने प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन,” उनले भने।

राईले विगतमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोल्ने नेताहरू अहिले ठूलो बहुमतसहित सरकारमा पुगेपछि आलोचनाप्रति असहिष्णु बनेको टिप्पणी गर्दै, “कुनै बेला ‘मलाई बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन’ भन्ने गीत गाउने र अहिले १८२ सिटको बहुमतसहित कार्यकारी भूमिकामा रहेको व्यक्ति एउटै हो कि होइन रु” भन्दै प्रश्नसमेत गरे।