अमेरिकामाथि बेल्जियमको ४–१ को शानदार जित

काठमाडौं । सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबार बिहान सियाटल स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा बेल्जियमले आक्रामक प्रदर्शन गर्दै घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले हराएको हो ।

बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र सान्त्वना गोल गरे।

खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ३१औं मिनेटमा टिलम्यानले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा फर्काए।

तर अमेरिकाको खुसी धेरैबेर टिक्न सकेन। बराबरी गोलको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। त्यसपछि ५७औं मिनेटमा हान्स भानकेनले गोल गर्दै स्कोर ३–१ बनाए।

दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४–१ को प्रभावशाली जित दर्ता गर्यो।

यस जितसँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यता, घरेलु समर्थकको साथ पाएको अमेरिका भने २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो।