संसद्मा भीष्मराज आङदेम्बेको प्रश्न – ‘प्रधानमन्त्री र मन्त्रीहरूको त्यत्रो सुन कहाँबाट आयो ?’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख गरिएको सुनको स्रोतबारे प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले सरकारले सय दिनको कार्यसूचीमा सम्पत्ति छानबिन आयोग गठन गरी अनुसन्धान सुरु गर्ने घोषणा गरेको स्मरण गराए। उनले सोही प्रसंग उठाउँदै सरकार प्रमुख र मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे पनि स्पष्ट हुनुपर्ने बताए।
‘प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन देखिएको छ। मन्त्रीहरूको विवरणमा पनि उल्लेख्य सुन छ,’ उनले भने, ‘त्यो सुन कहाँबाट आयो? यसको स्रोत के हो? जनताले जान्न पाउनुपर्छ।’
आङदेम्बेले पूर्वी नेपालका सर्वसाधारणले पनि यही प्रश्न गरिरहेको उल्लेख गर्दै सुनको स्रोत सार्वजनिक गर्न सरकारसँग माग गरे।
‘गाउँघरका आमाबुबाले पनि सोधिरहनुभएको छ – यति धेरै सुन कहाँबाट आयो? त्यसको स्रोत के हो?’ उनले भने।
उनले सम्पत्ति छानबिनको प्रक्रिया विपक्षीबाटै सुरु गर्न आफू तयार रहेको बताउँदै प्रधानमन्त्रीबाट पनि त्यसको सुरुवात हुनुपर्ने धारणा राखे।
‘प्रमुख प्रतिपक्षी दलको नेता मबाटै छानबिन सुरु गरौँ। सत्ता पक्षका नेता प्रधानमन्त्रीबाट पनि छानबिन सुरु गरौँ,’ आङदेम्बेले भने, ‘म छानबिनका लागि तयार छु, प्रधानमन्त्री तयार हुनुहुन्छ ?’
उनको भनाइप्रति सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका थिए भने सभामुखले सांसदहरूलाई मर्यादित ढंगले अभिव्यक्ति दिन आग्रह गरेका थिए।
