दिल्लीका होटलबाट उद्धार गरिएका ६३ मध्ये ४० नेपाली महिला काठमाडौं ल्याइयो, बाँकी युरोप जाने तयारीमा
काठमाडौं । घरेलु कामदारको रूपमा खाडी मुलुक लैजान भारत पुर्याइएका ४० नेपाली महिलालाई उद्धार गरी शुक्रबार काठमाडौं फिर्ता ल्याइएको छ ।
उनीहरूलाई रुपन्देहीको सुनौली नाका हुँदै दिल्ली लगिएको थियो। उद्धारमा दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, प्रहरी सहचारी र सामाजिक संस्था ‘किन इन्डिया’ को सक्रियता रहेको थियो।
बुधबार राति दिल्लीका चार होटलबाट ६३ नेपाली महिलाको उद्धार गरिएको थियो। तीमध्ये ४० जनालाई काठमाडौं ल्याइएको हो भने २२ जनालाई युरोप पठाउने तयारीमा रहेका कारण उनीहरूलाई जिम्मेवारी सहित सम्बद्ध मेनपावर कम्पनीका प्रतिनिधिलाई बुझाइएको छ।
‘किन इन्डिया’ का निर्देशक नवीन जोशीका अनुसार, ती मेनपावर कम्पनीले दूतावासलाई औपचारिक चिठी दिएर कानुनी प्रक्रिया अनुसार युरोप लैजान लागेको जानकारी दिएको थियो। मेनपावरका प्रतिनिधि दिल्ली पुगेर महिलाहरूको जिम्मेवारी लिएपछि उनीहरूलाई त्यहाँै नै छाडिएको हो।
उद्धार गरेर काठमाडौं ल्याइएका महिलाहरू कुवेत, साउदी अरब, ओमान र दुबई जाने तयारीमा थिए। यस्ता देशहरूमा घरेलु कामदारका रूपमा नेपाली महिला जान नपाउने व्यवस्था भएकाले उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक लैजान खोजिएको खुलेको छ।
हाल काठमाडौं ल्याइएका महिलाहरूलाई सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा राखिएको छ। उनीहरूको अवस्था बुझ्न मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रारम्भिक अनुसन्धान थालेको छ।
प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार, उद्धारमा परेका महिलाहरू अहिलेसम्म मानव बेचबिखनको उजुरी दिन इच्छुक देखिएका छैनन्। उनीहरूले आफू आफ्नै इच्छाले वैदेशिक रोजगारीमा जान लागेको बताएका छन्।
एक अधिकारीका अनुसार, केही महिलाहरू त उल्टै ‘खाने बाटो नै बन्द गरियो’ भन्दै आक्रोशित पनि भएका छन्। अहिले उनीहरूलाई काउन्सिलिङ प्रदान गर्ने कार्य भइरहेको छ।
यदि उनीहरूले जाहेरी दिन चाहेमा मात्रै अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अघि बढाइने प्रहरीले जनाएको छ।
