सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित, विभिन्न महत्वपूर्ण निर्णयहरू
काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औं वार्षिक प्रतिवेदन पारित गरेको छ। सभापति ऋषिकेश पोखरेलका अनुसार, समितिको आजको बैठकबाट पारित प्रतिवेदन अब पाँच दिनभित्र भाषा सम्पादन (शुद्धाशुद्धि) पछि संसदमा पेश गरिनेछ।
बैठकले जगदुल्ला जलविद्युत् आयोजनासँग सम्बन्धित विवादमा केही निर्माण कम्पनीहरूले नक्कली कागजात प्रयोग गरेर बोलपत्रमा सहभागी भएको भन्ने गुनासो स्पष्ट नभएसम्म सम्झौता अघि नबढाउन निर्देशन दिएको छ।
त्यस्तै, बेरुजु फछ्र्योटका विषयमा छलफल गर्न असार ९ र १० गते काठमाडौंमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय पनि गरिएको छ। कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका लेखा समिति सभापति तथा सचिवहरू, महालेखा परीक्षकको कार्यालय, विज्ञ, नगर तथा गाउँपालिकाका प्रतिनिधि सहभागी हुनेछन्।
सभापति पोखरेलले स्थानीयदेखि संघीय तहसम्मको समग्र लेखा प्रणालीको मूल्यांकन गर्दै आगामी सुधारका रणनीति तय गर्न गोष्ठी आयोजना गरिने जानकारी दिए।
बैठकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अनुगमन समितिको स्थलगत अध्ययनको प्रस्तावलाई पनि स्वीकृति दिएको छ।
यस्तै, मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै समितिले सरकारले पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ। साथै, आगामी धान रोपाइँ सिजनका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन तुरुन्त व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
