सडक पीचमा गुणस्तरीय नभएको भन्दै स्थानीय आक्रोशित


गुल्मी, फागुन १९ । गुल्मीमा सडक पीचको काम गुणस्तरीय नभएको भन्दै स्थानीहरु आक्रोशित बनेका छन् । जिल्लाको सदरमुकाम तम्घासदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा जाने मोटरबाटोको पीचको काम गुणस्तरीय नभएको भन्दै बुधबार स्थानीयहरुले सामाजिक सञ्जाल फेसबुकबाट आक्रोश व्यक्त गरेका थिए ।

स्थानीयहरुले सडकमा खटिएका प्राविधिकहरुले गुणस्तरहिन काम गरेको भन्दै व्यक्त गरेको आक्रोशलाई ध्यानमा राखेर तत्काल जिल्लाका सरोकारवालाहरु बुधबार नै त्यस सडकको अनुगमनमा पुगेका थिए । आज (विहिबार) जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमख नविन किशोर प्रधान, अधिकांश सरकारी निकायका प्रमुख, जनप्रतिनिधी र स्थानीय निर्माण स्थलमै पुगी अनुगमन गर्नुभएको थियो ।

तम्घास–रेसुङ्गा सडक खण्डको २०७४ साल असार ३० गते १७ करोड १८ लाख ४९ हजार ३९० रुपियाँ लागतमा सम्झौता भई पिच गर्ने जिम्मा रामेछाप कन्ट्रक्सन प्रालिले पाएको थियो । तम्घासको खानीगाउँदेखि रेसुङ्गा महापोखरीसम्म कूल ६ किलो मिटर पीच गर्ने जिम्मा पाएको त्यस निर्माण प्रालिले अहिलेसम्म पनि काम सम्पन्न गरेको छैन् । ८० प्रतिशत कामको मुल्याङ्कन देखाउँदै भुक्तानी भने १३ करोड ५२ लाख २८ हजार ६५२ रुपियाँ निर्माण व्यवसायीलाई दिइएको सडक पुर्वधार विकास कार्यालय प्रमुख ईन्जिनियर सचितानन्द चौधरीले जानकारी दिनुभयो । तर भुक्तानी अनुसारको काम नभएको स्थानीय गुनासो छ ।