एमसीसी प्रतिनिधि नेपालमा, सुरक्षा व्यवस्था कडा, एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो । दुई पक्षबीच आज बालकोटमा करिब एक घण्टासम्म संवाद भएको बताइएको छ ।
सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए । सुमार नेपाल आएपछि सबैभन्दा पहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेकी हुन् ।
यो संवादबारे दुवै पक्षले केही खुलाएका छैनन् । ओलीको सचिवालयले पनि भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताए पनि विस्तृत विवरण खुलाएको छैन।
दुई पक्षबीच एमसीसीलाई संसदबाट पास गर्नेुपर्ने विषयमा कुरा भएको बताइएको छ । एमाले पछिल्लो समय एमसीसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो ।
आज विहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्दै छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमण क्रममा नेपाल आाउनुभएको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार बिहीबार बिहान कतारवाट काठमाडौं आउनुभएको हो । उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं आउनुभएको छ । उहाँहरु आउँदा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । एमसीसी अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्धीत रहेको भन्दै नेपालमा बिरोध भइरहेको छ ।