सरकार बिन्ती छ तिमीलाई

कोरनाको कहरले नेपाललाई आक्रान्त बनायो
सबको जीवन यापन अस्त ब्यस्त बनायो
एक दिन, एक हप्ता गर्दै लकडाउन महिनौ लम्बियो
खल्तीमा दाम थियो त हिजो अस्ति खायो
अब त गोजी रितिन थाल्यो, चिन्ताले सताउन थाल्यो

दिनभरी फुर्सद छ, तर निन्द्रा हराएको छ
जति सुत्न खोजे पनि, आँखा खुल्लाको खुल्लै छ
खाटमा पल्टिन नपाई निदाउथेँ, मनमा कुरा खेल्न थाल्यो
भोली के खाने, कसरी खुवाउने, चिन्ताले अब सताउन थाल्यो

आफ्नो मनलाई सम्झाउंछु, मेरो मात्र होइन सबैको समस्या हो, तर मन मान्दैन
जति मनलाई सम्झाए पनि आदर्शको कुरालाई भोको पेटले मान्दै मान्दैन
अनेकौं गलत विचार आउन थाल्यो, पापी मनले राम्रो कुरा सोच्न मान्दैन

लालाबालाको सम्झना आउन्छ, आँखाबाट आँशु झर्छ, आँशु रोक्न मान्दैन

कसलाई सुनाउनु मेरो मनको बेदना सुनिदिने कोही भएन
कसलाई भनु मेरो विवषता बुझिदिने कोही भएन
साथीभाईलाई भन्छु उनीहरुको आफ्नै कथा बेथा सुनाउंछन्
आफन्तलाई भन्छु, उल्टो अर्ति उपदेश दिन थाल्छन्, हाँसेर टार्छन्

अब म के खाने कसरी बाँच्ने, कसरी लालाबालालाई खुवाउने
के अब गरीबले खाना खान नपाएर भोकै मर्नुपर्ने
सरकार मेरो बिन्ति छ तिमीलाई
तिमी छौ भने समयमा विचार पु¥याउ
गरीबलाई रोगबाट होइन, पहिले भोकबाट मर्न बचाऊ
मान्छे रहे पो, मान्छे नरहे के को उपचार ?