संसद अधिवेशन अन्त्यप्रति कांग्रेस र जसपाको आपत्ति
काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारले संघीय संसदको अधिवेशन हठात अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन्।
सदनमा छलफलका लागि विधेयक तथा संकल्प प्रस्ताव हुँदाहुँदै प्रतिपक्ष दलहरुसँग छलफल नै नगरि संसद अन्त्य गरेकोप्रति बैठकले असहमति राखेको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको दुई दलको बैठकले राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा सरकारको अपरिपक्वताले जटिलता थपिएको निष्कर्ष निकालेको कांग्रेस नेताले बताएका छन्।
‘कोरोना भाइरस संक्रमणको समीक्षा गरेको वैठकले व्यापक परीक्षण, उपचार तथा राहत प्रबन्ध गर्न र विदेशमा अफ्ठयारोमा परेका नागरिकको निस्शुल्क उद्धार गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकाले बताइएको छ ।
बैठकमा देउवासहित कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए भने जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादवसहित नेताहरु डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए।
