उपमहानगरपालिकामा प्रहरी र व्यापारीबीच झडप
बाँके । निषेधित क्षेत्र
घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपमा
प्रहरीको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले
प्रहरीको गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा
सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले
पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए । प्रहरीले उनीमाथि
सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर
सिंहले जानकारी दिनुभयो ।
बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात
गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता
सिंहले बताउनुभयो । स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान ११ बजेदेखि
यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको
छ ।
निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी,
स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा
रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र
राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी
कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने
र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी
दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो
। नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई
निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ ।
