आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्तीः साहित्यिक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी देहवसान भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत उनले नै पाएका छन् ।

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशनगराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् ।

गजल –
च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

मेरो देव मेरो प्रिय सबै तिमी हौ
आशीर्वाद माग्न धूप हालिराख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछौ भन्दै ओछिन खाली राख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा सधंै पालिराख्या छु ।।

ढोका खुला राख्न पनि डरमर्दो छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
भित्रै थुन्ने परेलीका आली राख्या छु ।।

तिमीलाई पूजा गर्ने फूलबारीमा
राम्रा राम्रा फूल गोड्ने माली राख्या छु ।।

ईश्वर भनौं दैव भनौं सबै तिमी हौ
पूजा गर्न सजाएर थाली राख्या छु ।।

  •  होम सुवेदी