संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्चको आग्रह
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बसेको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो अटल प्रतिबद्धता रहेको स्पष्ट पार्दै त्यसप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चताप्रति अदालत अडिग र स्पष्ट रहेको उल्लेख छ।
त्यस्तै, सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
सञ्चारमाध्यममा आएका समाचारका सम्बन्धमा हुने छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम आवश्यक जवाफदेहिता र सहयोग गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा ध्यान दिन पनि बैठकले आग्रह गरेको छ।
छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
त्यसैगरी, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीश तथा कर्मचारीलाई पूर्ण बैठकले आग्रह गरेको छ।
यस्ता छन् फुलकोर्टका पाँच निर्णय

