संसद् बैठक तत्काल आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनताका समस्या, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग सम्बन्धित विषयमा गम्भीर छलफल गर्न संसद् बैठक आवश्यक रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलका तर्फबाट सरकारसँग तत्काल संसद् बैठक बोलाउन माग गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार संसद् बैठक आह्वान गरी जनताका समस्या, राष्ट्रियताका सवाल, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नहरूमा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि गम्भीर छलफल भएको नेता हमालले बताए। नेपालको राजनीतिक वृत्तमा गम्भीर समस्या देखिएको र राष्ट्रियताका विषयमा समेत महत्वपूर्ण प्रश्न उठेको उनको भनाइ छ।
त्यसैगरी, जनजीविकाका सवाल, विपद्बाट प्रभावित नागरिकले पाउनुपर्ने राहत तथा पुनर्निर्माणका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।
प्रतिपक्षी दलहरूले यी विषयमा संसद्मार्फत सरकारलाई जवाफदेही बनाउन बैठक तत्काल आह्वान गर्नुपर्नेमा जोड दिएका छन्।
