संसद् बैठक तत्काल बोलाउन र छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले अदालतमा बिचौलियासँगको मिलेमतोमा मुद्दा प्रभावित पारिएको भनिएको सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ।
कांग्रेस संसदीय दलको बैठकले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा आशंका रहेको थापाले बताइन्। त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको निष्कर्ष रहेको उनको भनाइ छ।
बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको थापाले जानकारी दिइन्।
त्यस्तै, संसदीय दलले सांसदहरूलाई दिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो।
बैठकमा भोटेकोशी–त्रिशूली बाढीसम्बन्धी विशेष उच्चस्तरीय संसदीय समितिका पछिल्ला बैठकमा भएका छलफल र निर्णयका विषयमा समेत समीक्षा गरिएको कांग्रेसले जनाएको छ।
