भोटेकोसी बाढी : जलविद्युत् आयोजनाको सुरुङभित्र ३७ जनाको शव फेला
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा हालसम्म ३७ जनाको शव फेला परेको छ। नेपाली सेनाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ।
शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले खोज तथा उद्धारको प्रगतिबारे जानकारी दिँदै ३७ जनाको शव फेला परेको बताएका हुन्।
उनका अनुसार सुरुङभित्र खोजीका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त भएपछि इन्जिनियरहरूसँग समन्वय गरी उद्धार कार्ययोजना बनाइएको थियो।
प्रारम्भिक निरीक्षणका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्रै फेला परेका थिए। अन्य प्रवेश मार्ग अवरुद्ध रहेकाले नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार अघि बढाएका थिए।
पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थापाले जानकारी दिए। तर, डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले उद्धारमा कठिनाइ भएको थियो।
सुरुङभित्र प्रवेश गर्दा उद्धार टोलीले अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको अभाव सामना गर्नुपरेको थियो। कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर टोली अघि बढेको थियो।
सुरुङको माथिल्लो भागमा प्रोटेक्सन वर्कअन्तर्गत ढलान भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको थापाले बताए।
त्यसैगरी, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब एक हजार सात सय मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। उक्त क्षेत्रमा सुरुङ पूर्ण रूपमा अवरुद्ध रहेको पाइएको थियो।
खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए। सोही क्षेत्रमा ३७ जनाको शव फेला परेको थापाले जानकारी दिए। सुरुङभित्रको अवस्थाले प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखाएको उनको भनाइ छ।
हाल पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म टोली पुगे पनि त्यसपछिको क्षेत्रमा प्रवेश गर्न सक्ने अवस्था नरहेको सेनाले जनाएको छ।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङभित्र १७ फिटसम्म पानी र लेदो जमेको छ। अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिने सम्भावनाबारे आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको थापाले बताए।
उनका अनुसार हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति खोज तथा उद्धार कार्यमा परिचालित छन्।
