केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी गरेको छ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै कांग्रेसले आवश्यक कागजात र प्रक्रिया पूरा गरेर आयोग जाने तयारी थालेको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार अहिले आवश्यक कागजात जुटाउने र प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।

‘अहिले हामी तयारीमै छौँ। सबै कागजात र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ,’ दुलालले भने।

उनले आयोग जाने निश्चित मिति भने खुलाएका छैनन्। यद्यपि, सोमबारभित्रै आयोग पुग्ने गरी तयारी भइरहेको उनले संकेत गरेका छन्।

दुलालले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने विषयलाई सामान्य कानुनी तथा प्रशासनिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई ठूलो विषय बनाउन आवश्यक नरहेको बताए।

बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहणपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो।

आयोगमा विवरण अद्यावधिक भएपछि कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टीको अभिलेखसम्बन्धी प्रक्रिया पूरा गर्नेछ।