भारतको गुवाहाटीमा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । भारतको आसाम राज्यको गुवाहाटीस्थित एक होटलनजिक गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जनासहित केही व्यक्ति घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार घटना गएराति होटल बिलास इनसँगैको गल्लीमा रहेको कल्याण ज्वेलर्सनजिक भएको हो ।
गोलीबारीमा घाइते भएकामध्ये तीन पुरुष र दुई महिला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । मृतकहरूको पहिचानसमेत हुन नसकेको जनाइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्वोत्तर भारतको आर्थिक केन्द्रका रूपमा परिचित गुवाहाटीमा भएको घटनाबारे थप विवरण आउन बाँकी छ ।
