आनी छोइङको नियुक्ति बदरको माग गर्ने अभियानका संयोजकसहित दुई जना पक्राउ
बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा आन्दोलनरत लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले ६१ वर्षीय खान र लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई मध्यराति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा माग राख्दै आन्दोलन गरिरहेका बेला प्रहरीले मध्यरातमा धरपकड गरेको भन्दै महाअभियानले पक्राउ परेका दुवै जनालाई निःशर्त रिहा गर्न माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने सार्वजनिक स्थानमा ‘उच्छृङ्खल गतिविधि’ गरेको आरोपमा अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको प्रहरीले पुष्टि गरेको छ ।
महाअभियानले आनी छोइङको नियुक्ति बदर गरी कोषको उपाध्यक्षमा स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनकै क्रममा सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्री गनेश पौडेलको पुत्लासमेत जलाइएको थियो ।
कोषको उपाध्यक्षमा आवेदन नै नदिएकी आनीलाई नियुक्त गरिएको भन्दै महाअभियानसहित कपिलवस्तुको तिलौराकोट संघर्ष समिति, लुम्बिनी क्षेत्रका प्रदेश सांसद, पूर्वमन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राष्ट्रिय जेनजी नागरिक अभियानलगायतले विरोध गर्दै आएका छन् ।
विरोधकर्ताहरूले आनीको वंशजको नागरिकता प्राप्ति तथा हङकङबाट प्राप्त गरेको भनिएको करोडौँ रुपैयाँको वैधता र पारदर्शितामाथि पनि प्रश्न उठाएका छन् । उनीहरूले यी विषयमा निष्पक्ष छानबिन गरी निर्दोष प्रमाणित भएपछि मात्रै नियुक्ति स्वीकार्य हुने बताउँदै आएका छन् ।
