सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्राचार

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि सम्बन्धित मन्त्रालयलाई पत्र पठाएको छ।

मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन समन्वय गर्न अनुरोध गरेको हो।

पत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै सरकारी सेवामा कार्यरत कर्मचारीको बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको जनाएको छ।