मंसिर १ देखि हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ।

ईपीएस शाखाले सूचना जारी गर्दै यसपटक चारवटा क्षेत्रमा परीक्षा सञ्चालन हुने जनाएको छ। यसअघि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्रै परीक्षा हुँदै आएकोमा यसपटकदेखि सेवा र वन क्षेत्र पनि थपिएका छन्।

परीक्षा तालिकाअनुसार सेवा क्षेत्रमा नोभेम्बर १७ देखि, वन क्षेत्रमा नोभेम्बर १८ देखि र कृषि तथा पशुपालन क्षेत्रमा नोभेम्बर २० देखि परीक्षा सञ्चालन हुनेछ। उत्पादनमूलक क्षेत्रको परीक्षा भने डिसेम्बर ११ देखि सुरु हुने शाखाले जनाएको छ।

नोभेम्बर १७ देखि सुरु हुने परीक्षा सन् २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुनेछ।

यसपटकको कोरियन भाषा परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन्। तीमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै ५३ हजार १०३ जनाले आवेदन दिएका छन्।

त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा एक हजार १२४ र सेवा क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएको ईपीएस शाखाले जनाएको छ।

नयाँ क्षेत्र थपिएसँगै दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिने नेपाली युवाले थप क्षेत्रमा आवेदन दिने अवसर पाएका छन्।