चाडपर्व सुरक्षामा उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन, सादा पोसाकदेखि तालिमप्राप्त कुकुरसम्म प्रयोग

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वका समयमा बजार, सार्वजनिकस्थल, यातायात केन्द्र तथा बढी भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। घरबाहिर निस्कने, किनमेल गर्ने र विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधि पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्नेछन्।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नियमित गस्तीका अतिरिक्त सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको परिसरले जनाएको छ। जनशक्ति र प्रविधिको समन्वयबाट शङ्कास्पद गतिविधि पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने उपरीक्षक थापाले बताए।

भीडभाड हुने क्षेत्रमा विशेष निगरानी

चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले बजार, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र किनमेल केन्द्रमा विशेष निगरानी बढाइएको छ। ती क्षेत्रमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।

दसैँ तथा तिहारमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जानेको सङ्ख्या बढ्ने हुँदा चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधिको जोखिमलाई ध्यानमा राखेर प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ। आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा समेत विशेष ध्यान दिइएको प्रहरीले बताएको छ।

१४ सेक्टरमा सुरक्षा योजना

सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी योजना लागू गरिएको उपरीक्षक थापाले जानकारी दिए। ती सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुख खटिनेछन् भने समग्र सुरक्षा व्यवस्थाको निगरानी जिल्ला प्रहरी परिसरले गर्नेछ।

परिसर प्रमुख र वरिष्ठ प्रहरी अधिकृतसमेत सुरक्षा योजनाको अनुगमन तथा कार्यान्वयनमा संलग्न हुनेछन्। सेक्टरगत जिम्मेवारीले प्रहरीको उपस्थिति प्रभावकारी बनाउनुका साथै कुनै घटना वा शङ्कास्पद गतिविधिको सूचना प्राप्त भएपछि तत्काल टोली परिचालन गर्न सहज हुने प्रहरीको भनाइ छ।

सुरक्षा योजनाअन्तर्गत नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी, जनशक्ति परिचालन र आवश्यकताअनुसार तत्काल प्रहरी टोली खटाउने व्यवस्थालाई प्राथमिकता दिइएको छ।

सचेत रहन सर्वसाधारणलाई आग्रह

चाडपर्वका समयमा बजारमा किनमेल गर्नेको चाप, सार्वजनिक यातायातमा यात्रुको आवागमन तथा धार्मिक र सांस्कृतिक गतिविधि बढ्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नागरिकलाई घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। प्रहरीका अनुसार जनशक्ति, प्रविधि र विभिन्न निकायबीचको समन्वयमार्फत चाडपर्वलाई सुरक्षित बनाउने प्रयास गरिएको छ।