गायिका रीता थापामगर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापामगर खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचित भएपछि थापामगरले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।

उनले निर्वाचनलाई पद प्राप्तिको विषयमा मात्र सीमित नरहेको उल्लेख गर्दै नेपाली कांग्रेसप्रतिको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व तथा नेपाली कला, संस्कृति र लोकसङ्गीतको क्षेत्रमा आफूले गरेको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेकी छन्।

दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।