चामल जफत भएपछि कृष्णनगरमा व्यापारीले गरे आत्मदाहको प्रयास

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चामल नियन्त्रणमा लिएपछि एक व्यापारीले आत्मदाहको प्रयास गरेका छन्।

कृष्णनगर नगरपालिका–२ स्थित बैंकरोडमा अनुगमनका क्रममा चामल बोकेको पिकअप प्रहरीले नियन्त्रणमा लिएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्।

लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले आवश्यक कागजपत्र नभेटिएको भन्दै चामलसहितको पिकअप आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको थियो। त्यसपछि आफूलाई अन्याय भएको भन्दै अग्रहरीले आत्मदाहको प्रयास गरेको जनाइएको छ।

शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोज्दा प्रहरीले तत्काल उनलाई जोगाएको थियो। त्यसपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि सुरुमा तौलिहवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पठाइएको छ।

अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले प्रहरीको चेकजाँचमा परेका व्यवसायीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेको पुष्टि गरेका छन्।

उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा अग्रहरीलाई तत्काल जोगाइएको थियो। शरीरमा आगो नलागे पनि मट्टितेलका कारण असर परेपछि उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको चौधरीले बताए।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।