प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : ‘राजनीतिक दबाब र प्रभावमुक्त भएर काम गर्नुहोस्’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकृतहरूलाई राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त भएर निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन् । उनले कानुनको शासन कायम गर्दै नागरिकको जिउधनको रक्षा र शान्ति सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले इमानदारी, अनुशासन र नैतिकतालाई प्रहरी सेवाको मुख्य आधार बनाउनुपर्ने बताए ।
करिब १६ महिनाको कठोर तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’
प्रधानमन्त्री शाहले बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।
उनले प्रहरी अधिकृतहरूलाई सङ्गठनको मर्यादाविपरीतका गतिविधि, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रहन आग्रह गरे । कुनै पनि दबाबमा नपरी निर्भीकताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
‘संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,’ उनले भने ।
शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारीमा कुनै सम्झौता गर्न नहुनेमा पनि प्रधानमन्त्री शाहले जोड दिए ।
दीक्षान्त समारोहमा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी सङ्गठनका अधिकारीहरूको उपस्थिति थियो । तालिम पूरा गरेका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् ।
