कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी, महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।

उपसभापतिको खुलातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजयी भए । मधु आचार्य २ हजार ३४२ मतसहित निर्वाचित भए । समावेशी उपसभापतिमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै जित हासिल गरे ।

खुला उपसभापतिका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।

समावेशी उपसभापतिका उम्मेदवार जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए ।

महिला उपसभापतिमा पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र उदयशम्शेर राणा निर्वाचित भएका छन् । पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत प्राप्त गरे ।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।

कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ ।