उपत्यकामा ग्यास साटफेर केन्द्र ६ बाट बढाएर ११ पुर्‍याइयो

काठमाडौं । दसैँका बेला खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकामा ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको सङ्ख्या ६ बाट बढाएर ११ पुर्‍याइएको छ ।

उपभोक्ताको सहजताका लागि सोमबारदेखि पाँच स्थान थप गरी ११ केन्द्रबाट ग्यास साटफेरको व्यवस्था मिलाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अनुसार थपिएका केन्द्रमा काठमाडौँको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास र सन्तुगलमा श्रीमाया ग्यास साट्न सकिनेछ ।

यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौँको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यास साट्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिने व्यवस्था छ ।

तोकिएका ११ केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् । यसरी फरक कम्पनीको सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । तर, तोकिएका केन्द्रबाहेक अन्य स्थानबाट सिलिन्डर साटफेर गर्न पाइने छैन ।

संघका अनुसार ग्यास साटफेरको व्यवस्था असोज ३० गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सिलिन्डर साटफेर गर्न सकिने जनाएको थियो ।

संघका अनुसार आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ वटा ग्यास सिलिन्डर बिक्री वितरण भएका थिए ।