कांग्रेस उपसभापति भण्डारीको प्रतिबद्धता : ‘म’ होइन, ‘हामी’ भावनाका साथ अघि बढ्नेछु
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर मत दिनेहरूको विश्वास कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा सर्वाधिक मत प्राप्त गरी विजयी भएका भण्डारीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो प्रतिक्रिया सार्वजनिक गर्दै ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने बताएका हुन् ।
‘म प्रतिबद्ध छु– तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन । सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु,’ उनले लेखेका छन् ।
आइतबार राति अबेर सार्वजनिक मतपरिणामअनुसार खुलातर्फका दुई उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
त्यस्तै, अर्का विजयी उम्मेदवार मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन् ।
अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
यस्तो छ भण्डारीको भनाइ
विश्वासको शिर कहिल्यै झुक्ने छैन !
आभार तथा धन्यवाद !!!
नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी भई मप्रति व्यक्त गर्नु भएको विश्वास र अमूल्य मतका लागि महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
म प्रतिबद्ध छु- तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।
जय नेपाल !
