रसुवा बाढी अपडेट : मृतक ९०३ पुगे, ४ हजार २४७ जना अझै सम्पर्कविहीन
काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीका कारण बेपत्ता भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (पूर्व) मा २०७, नवलपरासी (पश्चिम) मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव फेला परेको छ।
बाढीपछि सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत रहेका छन्। नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन छन्।
त्यस्तै रसुवाका ८६५ जना, नुवाकोटका १ हजार ५५८ जना, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना तथा मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रबाट सोमबार बिहान ९ बजेसम्म कुल १० हजार ४५१ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
