रसुवामा भीषण बाढी, उच्च सतर्कता अपनाउन, उद्धार तथा राहतमा जुट्न निर्देशन
काठमाडौँ । भीषण वर्षापछि आएको बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम न्यूनीकरणका लागि सरकारका सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकिएको जानकारी दिएका छन्।
सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला संस्थालाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइएको बताएका छन् ।
उनले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। नदी किनार तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी गरिएका आधिकारिक सूचना र चेतावनी पालना गर्न उनले अनुरोध गरेका छन्।
‘अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ,’ मन्त्री तिमिल्सिनाले भनेका छन्।
सरकारले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र विपद्सम्बन्धी आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।
