भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको सवाल हो : ऊर्जामन्त्री घिसिङ

पदभारको पहिलो निर्णय : बक्यौता असुली

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै भ्रष्टाचारविरुद्ध कठोर अडान लिँदै, कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।

सोमबार ऊर्जामन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो तलबभत्ता ‘शहीद सहयोग कोष’मा दिने निर्णय सुनाए। सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी बाहेक अन्य सबै सुविधा अस्वीकार गर्ने प्रतिबद्धता पनि उनले जनाए।

मन्त्री घिसिङले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो “जीवन–मरणको विषय” भन्दै यसमा कदापि सम्झौता नहुने चेतावनी दिए।
“अनियमितता र भ्रष्टाचार पाए कडा कारबाही हुन्छ,” उनले स्पष्ट भने, “शून्य सहनशीलताको नीति हुनेछ। पारदर्शितामा प्रश्न उठेमा सिधै मलाई सम्पर्क गर्न सक्नुहुन्छ।”

उनले योग्य र इमानदार व्यक्तिलाई जिम्मेवारी दिने नीति अँगाल्ने भन्दै “सही मान्छे, सही ठाउँमा” राखिने बताए।

पदभारको पहिलो निर्णय : बक्यौता असुली

मन्त्री घिसिङले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरे – विद्युत् प्राधिकरणको बक्यौता रकम असुल गर्न निर्देशन।
उनले बक्यौता उठाउने अभियानलाई तीव्रता दिइने बताए।

साथै, स्वागत समारोहमा खादा, माला वा अबिर नलिने भन्दै सादगी र कार्यकुशलताको सन्देश दिएका छन्।

ऊर्जामन्त्री घिसिङले जेनजी आन्दोलनमा देखिएको हिंसात्मक मार्ग अब त्यागिनु पर्ने बताउँदै “हिंसा होइन, समाधान हाम्रो बाटो हो” भन्ने धारणा व्यक्त गरे।
“अब देश पुनर्निर्माण, राजनीतिक स्थिरता र समृद्धिको दिशामा जानुपर्छ,” उनले भने।

उनले विगतका कमजोरी नदोहोर्‍याउने अठोट व्यक्त गर्दै जिम्मेवारी लिने संस्कृतिको विकासमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
“देश रहेमात्र हामी रहन्छौं,” मन्त्री घिसिङले भने, “अब उड्ने मात्र होइन, सही अवतरण गर्न पनि सिक्नुपर्छ। भागेर होइन, जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ।”

उनले राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेकोसमेत जोड दिए।