खोटाङमा विद्यालय भवन निर्माणमा अनियमितता: तीन पूर्व जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । खोटाङको श्री लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन तीनजना जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित विद्यालयमा निर्माण गर्न लागिएको चारकोठे आरसीसी भवनका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। कुल लागत ३० लाख रुपैयाँको अनुमानसहित स्थानीय जनश्रमदानसमेत जोडिएको परियोजनामा काम नगरी रकम बुझेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

भ्रष्टाचारको आरोपमा मुद्दा पाउनेहरू यस्ता छन्:

  • तत्कालीन जिशिअ: डा. गणेश प्रसाद भट्टराई (बिगो: १० लाख), केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल (दुवैसँग जनही १४ लाख माग)
  • लेखापाल र इन्जिनियर: तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ (२४ लाख), सब-इन्जिनियर शिवराज राई (२४ लाख)
  • विद्यालय व्यवस्थापन समिति अध्यक्ष: पृथ्वी दाहाल (८ लाख)
  • प्रधानाध्यापकहरू: राजेन्द्रप्रसाद दाहाल र ह्यषिराम पोखरेल (जनही ८ लाख), हालका प्रधानाध्यापक नयनकुमार राई र लेखापाल सीता कार्की (प्रत्येकसँग ५ लाख १२० रुपैयाँ)
  • निर्माण ठेकेदार: अर्जुन तामाङ (१६ लाख)

अख्तियारका प्रवक्ता राजेशकुमार पौडेलका अनुसार, भवन निर्माणका लागि २०७१ साल चैत २२ गते सहमति भइसकेको भए पनि शर्तअनुसार काम नगरी बारम्बार रकम निकासा गरिएको पाइएकाले उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको ठहर गर्दै मुद्दा दायर गरिएको हो।