भिजिट भिसा ठगी प्रकरणमा २ हजारभन्दा बढी पीडित सम्पर्कमा आएको रास्वपाको दाबी, गृहमन्त्रीले धम्की दिइरहेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको नाममा ठगिएका २ हजारभन्दा बढी पीडितहरु पार्टीको सम्पर्कमा आएको दाबी गरेको छ। यसअघि रास्वपाले यस्तो ठगीमा परेकाहरूलाई प्रमाणसहित सम्पर्क गर्न आह्वान गरेको थियो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, ‘जेठ १४ गते हामीले भिजिट भिसा तथा मानव तस्करीसँग सम्बन्धित घटनामा परेका नागरिकलाई प्रमाणसहित सम्पर्कमा आउन अनुरोध गर्दै अभियान चलाएका थियौं। त्यसक्रममा भर्चुअल र प्रत्यक्ष माध्यमबाट दुई हजारभन्दा बढी पीडितले हामीलाई सम्पर्क गर्नुभएको छ।’

पीडितमध्ये केहीले आफूमाथि परेको ठगीका विवरण र प्रमाणसहित पार्टी कार्यालयमा आएर विवरण प्रस्तुत गरेको उनले बताए। त्यस्ता व्यक्तिहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक निकायमा उजुरी दिन रास्वपाले सल्लाह दिएको जनाएको छ।

तर, केही सञ्चारमाध्यममा रास्वपाका सांसद सुमना श्रेष्ठको निर्देशनमा झुटा उजुरी गराइएको भन्ने खबरप्रति आपत्ति जनाउँदै प्रवक्ता झाले भने, ‘यो खबरले हाम्रो ध्यानाकर्षण गराएको छ। यो घटनालाई विषयान्तर गर्ने नियोजित प्रयास र संसद्कै रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई धम्की दिइनुले त्यसको पुष्टि गर्छ।’

श्रेष्ठले पीडितहरूलाई झुटा उजुरी दिन निर्देशन दिएको भन्ने खबर असत्य भएको दाबी गर्दै उनले पार्टीमा आबद्ध कोही व्यक्ति त्यसमा संलग्न भए/नभएको सत्यतथ्य पत्ता लगाउन प्राडा चन्दा कार्की भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए। सो समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेका छन्।

‘हामी पटक–पटक भन्छौं, यो कुनै एक दल वा व्यक्तिविरुद्धको मुद्दा होइन’, उनले भने, ‘भिजिट भिसा र मानव तस्करीको संगठित अपराधविरुद्धको अभियान हो। विगत १८ वर्षमा रहेका १४ गृहमन्त्री सबैको छानबिन होस् भन्ने हाम्रो माग हो। एक जनामात्रैलाई निशाना बनाउने हाम्रो न राजनीतिक अभ्यास हो, न प्राथमिकता।’