समानान्तर महाधिवेशनतर्फ देउवा समूह, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले आगामी मंसिरमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकले अनुमोदन गरेको छ ।
बैठकले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासमेत तय गरेको छ । जसअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश तथा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय भएको छ ।
त्यसैगरी कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।
महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालालाई आवश्यक परामर्श गरी केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत संरचना गठन गर्ने जिम्मेवारी दिइएको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समितिसमेत आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी कोइरालालाई दिइएको छ ।
७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइने
जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका तथा वडा अधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको कुइँकेलले बताए ।
सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूको सिफारिसमा सचिवालयले प्रतिनिधि पठाउनेछ । केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गर्नुपर्नेछ ।
त्यसैगरी भदौ २८ गतेभित्र संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रका अधिवेशन तयारी समिति, असोज ३ गतेभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गर्ने निर्णय भएको छ ।
विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन तयारी समितिसमेत आवश्यक परामर्श गरी सचिवालयले गठन गर्ने कुइँकेलले जानकारी दिए ।
‘संस्थापन पक्ष एकलौटी अघि बढ्यो’
संस्थापन पक्षले सहमतिको वातावरण बनाउन चासो नदेखाएपछि आफूहरूले महाधिवेशनको प्रक्रिया अघि बढाएको नेता डा. प्रकाशशरण महतले बताए ।
‘उहाँहरू एकलौटी अघि बढ्नुभयो। महाधिवेशन कार्यतालिका रोक्न नमानेपछि हामी चुप लागेर बस्ने कुरा भएन। त्यसैले महाधिवेशनको कार्यतालिका ल्याएका हौँ,’ उनले भने ।
बैठकले प्रदेश तथा स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित तहले उम्मेदवारको नाम संकलन तथा उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ ।
देउवा समूहको अर्को बैठक भदौ २६ गते बस्ने भएको छ ।
