अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौं । गत साता नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइका सामग्री तथा सौर्य बत्तीलगायत बाढी प्रभावितका लागि आवश्यक सामग्री रहेका छन्।

दूतावासका अनुसार यी राहत सामग्री स्थानीयस्तरमा प्रभावित क्षेत्रमा काम गरिरहेका साझेदार संस्थामार्फत २ हजार ६ सय परिवारसम्म पुर्‍याइनेछ।

अमेरिकी दूतावासले बाढी प्रभावित समुदायका आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।

दूतावासले प्रभावित नागरिकसम्म राहत प्रभावकारी रूपमा पुर्‍याउन स्थानीयस्तरमा कार्यरत संस्थासँगको सहकार्यलाई प्राथमिकता दिइएको समेत जनाएको छ।