उच्चस्तरीय संयन्त्र गठनका लागि सर्वदलीय बैठक

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोसी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।

बाढीले पुर्‍याएको क्षतिको समीक्षा गर्दै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

बैठक मंगलबार दिउँसो २ बजेदेखि सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

रास्वपाका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ।

यसअघि पनि रास्वपाको आह्वानमा भदौ ११ गते सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकले भोटेकोसी विपद्को सामना गर्न सबै राजनीतिक दलको सहभागितामा सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।