बाढीबाट करिब ४० किलोमिटर सडक क्षतिग्रस्त र ४१ वटा पुल ध्वस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढीबाट करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै ४१ वटा पुल ध्वस्त भएका छन्।

वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द रहेको छ।

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडकमा लेदो जमेकाले यातायात अवरुद्ध भएको छ। सरकारले लेदो हटाएर उक्त सडक यथाशीघ्र सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

बाढीका कारण विभिन्न स्थानमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध रहेकाले आवश्यकता र सम्भावनाका आधारमा ती पुल जडान गर्ने तयारी अघि बढाइएको छ।

भारत र चीन सरकारले समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउन प्रतिबद्धता जनाएको बताइएको छ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।

वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने सडक सम्पर्क सहज हुन नसक्ने अवस्था रहेको छ।

अवरुद्ध सडक खुलाउन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण तथा यातायात सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै कामलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।