विवाहपूर्व सतर्कता र सचेतनाको जरुरी
विवाह सृष्टि सञ्चालनको स्वाभाविक प्रक्रिया हो । विवाहपूूर्व यस प्रक्रियालाई सबैजसोले स्वाभाविक रूपमा स्वीकारे पनि विवाहपश्चात कैयन्को जीवन अस्वाभाविक रूपमा परिणत भएको छ । केहीलाई सफलतामा परिणत गराएको विवाहले धेरैलाई उदेक र बैराग्यसहित असफलताको पराकाष्ठमा पु¥याएको छ । यसो हुनुमा हतारको विहे, स्वार्थप्रभावित विहे, अनमेल विहे नै प्रमुख कारक हुन् भन्न सकिन्छ । हतारमा विहे गरेर फुर्सदमा पछुताउनु भन्दा विवाहपूर्वको सचेतना र सतर्कतासहितको छलफल र समझदारीलाई पर्खन सके दाम्पत्य जीवनमा सुख र सन्तोषले साथ दिन सहज हुनेछ ।
हिन्दू संस्कार र संस्कृति स्वीकार्ने खासगरी आर्यजातिमा पहिले पहिले कार्तिक, पुष र चैत लगायतका केही महिनामा विहे नै गर्न हुन्न भन्ने चलन थियो र अहिले पनि केही हदसम्म त्यो चलन कायम छ । तर पनि आवश्यकता र अनुकूल हेरेर केहीले मिच्नुपर्ने बाध्यता र परिस्थिति बढ्दै गएको छ । विहे गर्न केटा र केटीको न्वारनको नाम र जन्ममितिसहितको कुण्डली हेर्नुपर्ने परम्परा पनि यहीँ गतिले कायम छ । यस्तामा बढी विश्वास गर्ने मानिसले त कुण्डली हेर्छन् नै तर केहीले मन नपरे कुण्डली मिलेन भन्ने र मन परे मिल्यो भनेर स्वीकार्ने गरेको दृष्टान्त पनि यो समाजमा विद्यमान छ । अर्कातिर सगोेत्री र नाताभित्रको सीमा पनि यसरी नै मिचिने गरेको अवस्था छ । चित्तबुझे ‘ओके’ नबुझे रोके ।
विहेको मगनीका क्रममा खासगरी केटातर्फको पढाइ, कमाइ र मद्यपानको लतको अवस्थाका बारे केटीतिरकाले चासो राख्छन् । केटातिरकाले चासो राख्ने विषय बढीचाहिँ पढाइ र केटासाथी छ कि छैन भन्ने हो । अनि केटा र केटीलाई छुट्टाइएको केही समयमा उनीहरूले गर्ने महत्वपूर्ण विषय गर्लफ्रेण्ड र व्बाईफ्रेण्डप्रतिको शंका र उपशंकामै केन्द्रित भएको पाइन्छ । विवाह त्यो संस्कृति र परम्परा हो जो जीवनभर जीवन्त रहनु पर्छ तर त्यस्तो कमै हुन्छ । यो अवस्थालाई न्यून गर्न विवाहपूर्वका शर्त र समझदारीप्रतिको सचेतना बढाउनै पर्छ । रूप, रङ्ग, पैसा, पढाइ र प्रतिष्ठाका अतिरिक्त घरगृहस्थीका सानातिना कुरा, स्वास्थ्य र शारीरिक क्षमताका कुरामा पनि केही हदसम्म विवाहपूर्व नै द्विपक्षीय समझदारी हुनु जरुरी छ ।
केटा र केटीको रुचिको विषयमा एकअर्काको अनिच्छा हुन सक्छ । रुचि र अनिच्छा कायम रहे सम्पत्तिले मात्र काम गर्दैन । मान्छेको सकारात्मक रुचिलाई स्वाभिमानी हुन दिनु पर्छ । सन्तान जन्माउने विषय पनि धेरै जोडीको झगडाको कारक बनेको छ । त्यसमा पनि विवाहपूर्व नै समझदारी हुनु पर्छ । जसको जति प्रतिष्ठा भए पनि आफ्नो जोडीका राम्रा कुरा सुन्ने र मनन् गर्ने धैर्यता र क्षमता राख्नु पर्छ अहंताले नफुल्ने कुराको पनि समझदारी हुनु पर्छ । विवाहपूर्व केटा र केटीको कुराकानी हुँदा आफ्नो जीवनसिद्धान्त, आनीबानी र भावी सोंचका बारे थुप्रै आन्तरिक कुराहरू गर्नुपर्छ, ब्वाईफ्रेण्ड र गर्लफ्रेण्डप्रतिको शंका उपशंकामा मात्र कुराकानी सीमित राख्नु हुँदैन । आन्तरिक कुरा बुझ्दा एकअर्कामा समझदारी कायम गर्न नसकिने अवस्था देखियो भने त्यो मगनीलाई तत्कालै रद्द गर्नु पर्छ । कसैको प्रभाव र दबाबमा परेर आफ्नो जीवनलाई सधैँ दुःखी राख्नु महाभूल हुनेछ । र कसैले पनि आफ्ना छोराछोरी, भाञ्जाभाञ्जी वा भतिजा भतिजी जो हुन् उनीहरूलाई मगनी स्वीकार्न बाध्य पार्नु हुन्न । कसैले विवाहका लागि ल्याएको प्रस्ताव स्वार्थपरक पनि हुन सक्छ, खास के हो ? भनाइमा कति सत्यता छ त्यो नबुझी हतारमा बिहे गराउने निर्णयले पछि नतिजा नराम्रो हुन सक्छ ।
देवानी संहिता २०७५ ले २० वर्ष नपुगी विहे गर्न निषेध नै गरेको छ । यो निषेधलाई स्थानीय निकायको जन्मदर्ता र जिल्ला प्रशासन कार्यालयको नागरिकतामा उल्लेख भएको मिति अनुसार २० वर्ष पुगेको हुनुपर्ने भन्ने बुझ्नु पर्छ । जन्मेको मिति र कागजातको मिति एउटै भए त अर्को कुरा गर्नै परेन, नभएको अवस्था वा उमेर घटाएर कागजात बनाएको भएमा भने ध्यान पु¥याउनै पर्छ । अहिले मंसिरमा चलिरहेको विवाहको सिजन होस् वा कुनै पनि बेला हुने मगनी विवाह होस् विवाहपूर्व अपनाइने सचेतना र सतर्कता जहिले पनि मनन गर्नुपर्ने विषय हुन् । यसले वैवाहिक जीवनका अनेकौं घुम्तिमा आइपर्ने कठिनाइबाट जोगिन र पार पाउन सहयोग गर्छ र जीवनलाई सुखी र खुशी राख्छ ।
विहेमा दाइजोको प्रस्ताव गर्नु त के आसा राख्नु पनि गल्ति हो । विहे भौतिक सम्पत्ति प्राप्तिका लागि हुनु हुँदैन, मूल सम्पत्ति बेहुली नै हुनुपर्छ । आसा र भरोसा राख्ने विषयमा बेहुलीको मनको सुन्दरता हेर्नुपर्छ जसमा उनको असल चरित्र, प्रतिभा, क्षमता र कौशल झल्कियोस्, त्यो नै ठूलो सम्पत्ति हो । बेहुली पक्षकाले पनि धेरै गरगहना र महंगा सारीको अपेक्षा गर्नुहुँदैन । ठूलो तामझामका साथ विहे गरेर केही समयपछि पछुताउनु परेका कैयन् घटना हाम्रो समाजमा दिनप्रतिदिन सुनिने गरेका कुरालाई नजरअन्दाज गर्नु वा बेवास्ता गर्नु पनि गल्ति हो । सम्पत्तिको शान देखाएर विहे गर्दैमा त्यो जोडीको जीवन सुखी हुन्छ भन्ने ग्यारेण्टी गर्ने कुनै आधार नभएकाले आधारविनाको रवाफको जवाफ त्यहिँ हुनेछ जो हरेक भोलिले देखाउँछ ।
प्रेमविवाह, अदालती विवाह, गन्धर्व विवाह र कागजी वा अन्य विवाहमा पनि सतर्कता र सचेतनाको जरुरी छ तर आजको यो लेख मूलतः मगनी विवाहमै केन्द्रित गरिएकोले सारांशमा संक्षिप्त अंशमा सीमित गरिएको छ ।
