पाँच पटक प्रधानमन्त्री भएँ, अब जीवनभर देश र जनताका लागि समर्पित हुन्छु : देउवा

‘पञ्चायतकाल र राजाको शासनमा नडराएको म, सर्वोच्चबाट पूर्ण न्याय पाउने विश्वासमा छु’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले जीवनमा प्राप्त गर्नुपर्ने सबै कुरा प्राप्त गरिसकेको भन्दै अब बाँकी जीवन देश र जनताका लागि समर्पित गर्ने बताएका छन्।

कांग्रेसको इतर पक्षले आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफू डडेलधुराको सामान्य परिवारबाट आएर पाँच पटक प्रधानमन्त्री बनेको उल्लेख गरे। जनताले आफूलाई धेरै दिएको भन्दै अब जीवन रहेसम्म देश, जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि काम गर्ने उनको प्रतिबद्धता थियो।

‘म डडेलधुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। अब आफ्नो जीवन रहेसम्म देशलाई दिने हो, जनतालाई दिने हो। मेरो जीवन रहुन्जेल नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने चाहन्छु,’ देउवाले भने।

उनले आगामी निर्वाचनमा बागलुङबाट नेपाली कांग्रेसलाई अत्यधिक बहुमतका साथ विजयी गराउन पनि आग्रह गरे। साथै, पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले पूर्ण न्याय पाउने विश्वास व्यक्त गरे।

देउवाले विगतमा पञ्चायतकालमा जेल परेको र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा शाही आयोगमार्फत जेल चलान गरिएको प्रसंग स्मरण गर्दै अदालतले आफूलाई न्याय दिएको बताए।

‘पञ्चायतकालमा मलाई थुनेर राखेको थियो। त्यो बेला अदालतले हिम्मत गरेर मलाई छोड्यो। पूर्वराजा ज्ञानेन्द्रको बेलामा पनि शाही आयोग गठन गरेर मलाई थुनेको थियो। राजा अगाडि सर्वोच्च अदालत पनि डराए। सर्वोच्चले हिम्मत गर्‍यो, मलाई जेलबाट छोडेको हो। मलाई विश्वास छ, सर्वोच्च अदालतबाट पूरापूरा न्याय पाइनेछ,’ उनले भने।